काठमाडौं । ओरेन्टल को–अपरेटिभ लिमिटेडमा एक लाख रुपैयाँ भन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत भएकालाई साउन १५ गतेसम्म प्रमाणसहित निवेदन पेस गर्न म्याद दिएको छ ।

ओरेन्टल सहकारीका पाँच सय २८ बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको अभिलेख समितिको कार्यालयमा रहेको व्यवस्थापन समितिले बताएको छ ।

विसं २०७४ कात्तिक २० गते सरकारले ओरेन्टललाई पहिलोपटक समस्याग्रस्त घोषणा गरेको थियो । घोषणाका विरुद्ध सर्वोच्च अदालतमा ओरेन्टल मुद्दा लिएर गएको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७६ फागुन ११ गते सहकारी पूर्ववत् सञ्चालन गर्न र समस्याग्रस्त सहकारी समितिले नहेर्ने भनी फैसला गरेको थियो ।