काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपाली शेयर बजारले उत्साहजनक प्रदर्शन गरेको छ। अघिल्लो वर्षको तुलनामा झन्डै २५ प्रतिशतले नेप्से परिसूचक बढेको छ भने कारोबार रकम र बजार पुँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ।

अघिल्लो आवको असार मसान्तमा २,२४०.४१ विन्दुमा रहेको नेप्से परिसूचक, गत आवको अन्त्यमा ५३४.३७ अंकले बढ्दै २,७९४.७८ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि २४.७४ प्रतिशतको हो ।  त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा धितोपत्र बजारले कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अवधिमा २१ खर्ब २४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १८९ प्रतिशतले बढी हो ।

नेप्सेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८१/८२ मा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको मात्र कारोबार भएको थियो । कारोबार रकममा आएको यो उछालले आर्थिक वर्ष २०७७/७८ मा कायम भएको १४ खर्ब ५४ अर्ब ४४ करोडको सर्वाधिक कारोबारको कीर्तिमानलाई समेत तोडेको नेप्सेले जनाएको छ ।

यस्तै, आर्थिक वर्षको अन्त्यसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ। यस अवधिमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने ४ वटा नयाँ कम्पनी प्राथमिक निष्कासन (आईपीओ) मार्फत थपिएका छन् । वर्षभरिमा आईपीओ, एफपीओ, सामूहिक लगानी कोष, ऋणपत्र र स्थानीयलाई वितरण गरिएको गरी कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता नयाँ धितोपत्र सूचीकृत भएका छन् ।

गत आवमा नेप्सेले ३,०८१ विन्दुको उच्च विन्दु समेत छाएको थियो, जुन अघिल्लो आवको उच्च विन्दु २,२५७.६० विन्दु भन्दा धेरै माथि हो। नेप्सेले इतिहासमै सबैभन्दा उच्च विन्दु ३,१९८ टेकेको थियो भने न्यूनतममा झरेर १,८०० विन्दुमा आइपुगेको थियो।

उपसमूह विश्लेषण : ‘अन्य’ समूह सबैभन्दा अगाडि

अन्य समूह: ३८.८४% वृद्धि — नेपाल पुनर्बीमा, मुक्तिनाथ कृषि जस्ता कम्पनीको योगदान
व्यापार समूह: ३६.०६% वृद्धि — विशाल बजारमा सरकारी स्वामित्वको उच्च हिस्सा
लगानी समूह: ३५.६७% वृद्धि — CHDC, NRN, Hathway का शेयर मूल्यमा तीव्र वृद्धि
विकास बैंक समूह: ३४% वृद्धि — ५,९४१.९९ विन्दुमा
हाइड्रोपावर समूह: ३१.०१% वृद्धि — धेरै कम्पनी सूचीकृत समूहमा पाँचौं स्थान

अन्य उल्लेखनीय वृद्धि:

होटल तथा पर्यटन समूह: २४.९७%
बैंकिङ समूह: २४.१४%
जीवन बीमा: २३.३०%
निर्जीवन बीमा: १३.९२%
उत्पादन तथा प्रशोधन: ९.३४%
लघुवित्त समूह: ८.१३%