काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गरे ।

फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष जलानले बताए ।

यस्तै एमबिए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट ६ जना विद्यार्थीलाई फाउन्डेसनले निःशुल्क अध्ययन सुविधा उपलब्ध गराउनेसमेत सहमति भएको छ । इन्स्योरन्स कम्पनीले छनोट गर्ने ६ जना विद्यार्थीलाई शैक्षिक सत्रमा लाग्ने १० लाख २० हजार रुपैयाँ खर्च फाउन्डेसनले बेहोर्नेछ ।

नेपाल लाइफ कम्पनीमा कार्यरत बिमा अभिकर्ताहरुमध्ये ६ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले बेहोर्ने गरी सहमति भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।

सूचना प्रविधिको विकास र प्रयोग बढे पनि त्यसअनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जलानको भनाइ छ । सरकारले अङ्गीकार गरेको पढ्दै कमाउँदै नीतिको व्यावहारिक कार्यान्वयनका लागि फाउन्डेसनले पनि पहल गरिरहेको अध्यक्ष जलानले बताए ।