काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाकाे टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् शनिबार ८ घण्टा आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
लप्सीफेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले आज बिहान ८:३० बजेदेखि बेलुका ४:३० बजेसम्म विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो ।
“टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ” प्राधिकरणले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
जसबाट टेकु सब स्टेसनबाट विद्युत आपूर्ति भइरहेका काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा आज प्रभावित हुनेछ ।









