काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको छ । राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको हाे ।

मौद्रिक नीतिमा भने सेयर कर्जाको जोखिम भार पुनरावलोकन हुने भनिएको छ ।

राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत बाट घटाएर १०० प्रतिशत बनाएकाे बताएका छन् ।

यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।

सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए । अन्य रियलस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए ।

यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।

घरजग्गाको कर्जामा भने सय प्रतिशत जोखिम भार कायम हुने उनले बताए । बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर दुरुपयोग भएको भए जसरी पनि असुल गर्ने उनले बताए ।