काठमाडौँ । जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिनामा जापानको अमेरिकातर्फ हुने निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ । यो लगातार चौथो महिना हो जसमा अमेरिकातर्फको निर्यात घटेको देखिएको हो ।
निर्यातमा आएको यो तीव्र गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको छ । जुन अमेरिकी सरकारले लगाएको नयाँ आयात शुल्कको असर हो । अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने पार्टपुर्जाको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।
जापानको कुल निर्यात २.६ प्रतिशतले घटेर ९.३६ ट्रिलियन येन (करिब ६.३१ मिलियन अमेरिकी डलर) पुगेको छ । यो लगातार तेस्रो महिना पनि घटेको हो । उता, आयात पनि ७.५ प्रतिशतले घटेको छ । यसको कारण कच्चा तेल, कोइला र तरल प्राकृतिक ग्याँसको मूल्य घट्नु र येन बलियो हुनुलाई मानिएको छ ।
मन्त्रालयले जनाएअनुसार जापानको व्यापार घाटा जुलाई महिनामा ११७.५ अर्ब येन पुगेको छ । जुन पछिल्लो दुई महिनामा पहिलो पटक घाटामा गएको अवस्था हो ।







