काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् । उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई यस्ताे निर्देशन दिएका हुन् ।
परराष्ट्रमन्त्री साउदले १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिए ।
अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत् हुने भएपनि काउन्सलर विभागको छाप र प्रमाणिकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने बाध्यता छ ।
जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । राहदानी विभागमा देखिँदै आएको भिडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका हुन् ।
काउन्सलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्ने व्यवस्था गरेसँगै सेवाग्राहीले त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने छ ।
कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढंगले सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी सरकारको २०७० वैशाख २० गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको स्थापना भएको हो ।