काठमाडौं । कुनै समय खचाखच ग्राहक देखिने, काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड अहिले सुनसान देखिन्छ । पहिले खचाखच ग्राहक भेटिने हजारौं सटरहरु अहिले बन्द भइसकेका छन् । बन्द सटरको बाहिर लेखिएको छ – ‘टु लेट/सटर भाडामा छ ।’
सडक छेउमा केही पसल खुला छन् । खुला भएका पसलमा पनि ग्राहक छैनन् । तर, ग्राहकको पर्खाइमा रहेका पसलेहरु एकसुरले कराइरहेका थिए – ‘३५०, सामान झक्कास,’ ‘५ सयको दुइटा, ५ सयको दुइटा’, ‘आउनुस आउनुस, सबै सामान सेलमा’ ।
करिब ९ वर्षदेखि कपडा पसल थालेका रामेछापका केदार चौलागार्इं पसलमा एक्लै भेटिए । केदारले काठमाडौंमा फेन्सी व्यावसाय सुरु गरेदेखि यति कम ब्यापार भएको कहिल्यै थाहा पाएनन् । कुनै समय ग्राहकले खचाखच भरिने उनको पसल अहिले भने सुनसान जस्तै भएको छ ।
पहिलेभन्दा अहिले ब्यापार धेरै घटेको छ, उनले भने , ‘पहिले १ लाख कमाउने ठाउँमा अहिले ६० हजार जस्तो ब्यापार हुन्छ । पहिलेजस्तो मानिसहरु आउनै छाडे, आर्थिक मन्दी छायो, धेरै मान्छे विदेशिय, सरकारले पनि यसमा ध्यान दिएन ।’ दशै तिहारको सिजनमा व्यापार होला की भन्ने आशमा रहेको उनको भनाइ छ । केदार फुटकर बिक्रेता हुन् । उता होलसेल बजारको अवस्था झन दएनिय थियो ।
२६ वर्षदेखि कपडा पसल गरेका बद्री कुमार श्रेष्ठको होलसेल पसल न्युरोड स्थित रञ्जना ट्रेडर्समा छ । उनको पसलमा रेगुलर आउने ग्राहकहरुमध्ये ९० प्रतिशत ग्राहक आउनै छोडीसके । नयाँ ग्राहक आउने कुरा पनि भएन ।
पहिले काठमाडौं भ्याली बाहिरका धेरै खुद्रा व्यापारीहरु उनको पसलमा सामान किन्न आउथे । गएको पौस महिनादेखि उनको पसलमा आउने ग्राहकको संख्या दिनदिनै घट्दै गयो । अहिले यो संख्या घटेर ९० प्रतिशत नै पुगेको उनको भनाइ छ ।
न्युरोडको होलसेल मार्केटमा जुत्ता चप्पलको पसल गर्ने चितवनका चुडामणी पौडेलको पीडापनि लगभग उस्तै छ । पहिलेको तुलनामा अहिले सामानको मूल्य बढेकाले सामान बेच्नै धौ–धौ भएको उनले बताए । ‘कोरोनाको बेला नछाएको मन्दी अहिले छायो’, उनले भने ‘कोरोना पछि बरु राम्रै ब्यापार थियो अहिले ग्राहक नै आउन छाडे ।’
न्युरोडको ब्यापारमा मन्दी आउनुमाा सहकारी पनि दोशी रहेको पौडेलको भनाइ छ । ‘सहकारीले साना ब्यापारीहरुलाई ऋिण दिन्थे र सहज हुन्थ्यो । २÷४ लाख लिएर सामान किन्थे, त्यही सामान बेचेर आएको फाइदाले किस्ता तिर्थे, बचत गर्थे । तर अहिले धेरैजसो सहकारीहरु रकम हिनामिना गरेर फरार हुदाँ झनै समस्या भएको छ ।’ अब तीज दशै र तिहारमा पनि राम्रो ब्यापार भएन भने धेरै ब्यापारीहरु डुब्ने र धेरै जसो सटर नै बन्द गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
पुख्र्यौली घर लमजुङ भएका दुर्गाराज गुरुङ पनि पसलमा एक्लै भेटिए, २५ वर्षदेखि गुच्चाटोलमा होलसेल पसल गर्दै आएका उनी निकै चिन्तित मुद्रामा भेटिए । सस्तोमा मिलाएर दिन्छु भन्नका लागि पनि ग्राहक नै नभएपछि उनको चिन्ता बढेको हो ।
‘लकडाउन खुलेपछि पनि केही समय राम्रै चल्यो तर, लकडाउनको बेलामा धेरैको रोजगारी गुम्यो धेरैको पसल नै बन्द भए त्यसैले होला त्यो बेलाको मार अहिले प¥यो र पुरै मार्केट डाउन छ, मान्छेहरु सबै आत्तीरहेका छन्, पैसा नभएर त होला नी ।’
पहिले हप्तामा, महिनामा एकपटक सामान किन्न आउने ग्राहक अहिले वर्षदिन बित्दा पनि नआएको तर, धेरै ठाउँमा उधारो सामान दिएका कारण बाध्यताले पसल कुरिरहनु परेको उनी बताउछन् ।
त्यही भीडमा लेडिज ब्याग पसल गरिरहेकी समता मिश्रको पनि व्यापारमा निकै ह्रास आएको छ । पूर्वदेखि पश्चिमसम्मका मानिस आउने उनको होलसेल ब्याग पसलमा हिजोआज उपत्यकाबाहिरका खासै आउँदैनन् भने उपत्यका भित्रका पनि फाट्ट फुट्ट मात्रै आउने गरेको उनको भनाइ छ ।
‘बैंकले कर्जा दिन छाडेपछि समस्या भएको हो,’ उनले भनीन्, ‘लकडाउनका बेला जति पनि पैसा दिए बैंकले, सामान पनि बिक्यो, अहिले पैसा पनि बन्द छ, सामान किन्न आउने पनि निकै कम छन् ,सबैतिर आर्थिक मन्दी छायो । अब यहि गतिमा चले एकदिन पसल बन्द गर्ने दिन आउने उनको चिन्ता छ ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अहिले न्युरोड, असन, इन्द्रचोक जताततैका ब्यापारीहरु व्यापार नभएर कुन दिन पसल बन्द गर्नुपर्ने हव् भन्ने चिन्तामा देखिन्छन् ।
कोभिड अघि र अहिलेको व्यापारमा आकास पातालले फरक
रञ्जना ब्यापार संघकी अध्यक्ष बीना श्रेष्ठले कोभिड अघि र अहिलेको ब्यापारमा आकास पातालको फरक रहेको बताइन् ।
कोभिड अगाडि जुन गतिमा ब्यापार चलेको थियो, त्यो अहिले छैन् उनले भनीन्, ‘तुलनात्मक रुपमा हेर्ने हो भने ३० प्रतिशतले ब्यापार घटेको छ । रिटेल सामान बेच्ने धेरैले पसल नै छोडिसके । धमाधम सटर बन्द हुन थाले । रिटेलरहरु नआए होलसेल पसल कसरी चल्ने?’
बैंकहरुले राम्ररी ऋिण प्रवाह गर्न नसक्नु र केही सहकारीहरु डुब्नु पनि प्रमुख समस्या भएको उनको बुझाइ छ । बैंकले १ करोड ऋिण दिनका लागि सेवाग्राहीले ५ करोडको ट्रान्ज्याक्सन देखाउनुपर्ने समस्या समेत रहेकाले पनि ब्यापारमा ह्रास आएको उनले बताइन् ।