काठमाडौं । भन्सार विभागले सोमबार आर्थिक वर्ष २०७९/८० को वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गरेको छ । वर्षभरीमा कूल १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँ बराबरको आयात/निर्यात भएकोमा नेपाललाई १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ खुद घाटा लागेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा यो १५.४५ प्रतिशतले कमी हो ।

आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक व्यापारतर्फ कूल २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँको आयात/निर्यात हुँदा मुलुकलाई १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ खुद घाटा लागेको थियो ।

वैदेशिक व्यापार घाटा मुलुकको वार्षिक बजेटको आकार भन्दा पनि ठूलो भएपनि सरकारले आयात नियन्त्रणको नीति अपनायो । केन्द्रीय बैंकले विभिन्न टुल्सहरुको प्रयोग गर्दै आयात कर्जामा नियन्त्रण गर्ने, एलसी मार्जिनलाई बढावा दिनेदेखि वस्तुको आयातमा नै प्रतिवन्ध लगाउने समेत गर्यो । जसका कारण यस वर्ष आयातमा नियन्त्रणसँगै व्यापार घाटा समेत १५ प्रतिशत माथिले घट्न पुगेको हो । सँगै समीक्षा वर्षमा यता निर्यात समेत घट्न पुग्दा वैदेशिक व्यापारमा निराशा थपिएको छ ।

कुनदेशसँग कति व्यापार घाटा छ ?

आयात/निर्यात गर्ने कूल १७० वटा मुलुकहरु प्रत्यक्ष रुपमा वैदेशिक व्यापारमा नेपालसँग जोडिएका छन् । छिमेकी मुलुक भारत र चीनदेखि युद्धरत मुलुक रुस (रसिया) र युक्रेनसँग समेत नेपालको प्रत्यक्ष वैदेशिक व्यापार रहेको छ । यी देशहरुमा नेपालले प्रत्यक्ष वा परोक्ष रुपमा व्यापार नुनदेखि सुनसम्मको व्यापार गर्दै आइरहेको छ ।

व्यापारको भोलुमका आधारमा सबैभन्दा बढी नेपालको आयात/निर्यात छिमेकी मुलुक भारतसँगै रहेको छ । कूल वैदेशिक व्यापारको ६४ प्रतिशत हिस्सा भारतले ओगटेको छ । समीक्षा वर्षमा भारतबाट १० खर्ब २७ अर्ब ८४ करोड ७५ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदैगर्दा नेपालबाट जम्मा १ खर्ब ६ अर्ब ६८ करोड ६४ लाख ४ हजार रुपैयाँको मात्र निर्यात हुन सकेको छ । यस वर्ष भारतसँगको व्यापारमा नेपाललाई ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ बढी घाटा लागेको छ ।

यस्तै, अर्को छिमेकी मुलुक चीनसँगको व्यापारमा कूल २ खर्ब २२ अर्ब ७१ करोड ५९ लाख ३३ हजारको वस्तु तथा सेवाको आयात हुँदैगर्दा जम्मा १ अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको छ । जसबाट नेपाललाई यो वर्ष चीनतर्फ २ खर्ब २० अर्ब ९५ करोड १ लाख ४६ हजार रुपैयाँ घाटा लागेको छ ।

रुस र युक्रेनसँग केछ व्यापार स्थिति ?

युद्धरत रुस र युक्रेनसँग नेपालले कृषि तथा खाद्यान्नसँगै केही मेसिनरी सामग्री समेत आयात गर्दै आएको छ । अप्रत्यक्ष रुपमा रुससँग पेट्रोलियम पदार्थ आयात हुने नेपालमा सिधै पशुपन्छि समेत आयात हुने गरेको छ । भने युक्रेनबाट गहुँ, मकै लगायतको खाद्यान्न आयात हुने गरेको छ ।
समीक्षा वर्षमा रुसबाट २३ करोड ६० लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदैगर्दा नेपालबाट १५ करोड ६० लाख ७३ हजार रुपैयाँ बराबरको फेट तथा हस्तकलाका सामग्रीहरु निर्यात भएका छन् । यसबाट नेपाललाई ८ करोड १९ हजार रुपैयाँको मात्र घाटा लागेको छ । तर, अर्को मुलुक युक्रेनसँग भने नेपालको व्यापार घाटा १८ अर्ब बढी रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा युक्रेनबाट नेपालले १८ अर्ब ४३ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दैगर्दा नेपालबाट जम्मा १ करोड ८ लाख ७१ हजार रुपैयाँको मात्र निर्यात भएको छ । यसले युक्रेनसँगको व्यापारमा नेपाललाई १८ अर्ब ४२ करोड ३८ लाख १२ हजार रुपैयाँ खुद घाटा लागेको छ ।