काठमाडौं । मोबाइल फोन फेरी फेरी चलाउने नेपालीले गत आर्थिक वर्षमा भने पुरानै फोन मर्मत गरेर काम चलाएका छन् ।
गत आवमा नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको भन्सार विभागले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार मोबाइल आयातमा १२ अर्ब रुपैयाँको गिरावट आएको छ ।
आघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब रुपैयाँ भन्दा बढीको फोन भित्रिएकामा गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको मात्रै मोबाइल फोन भित्रिएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ३५ हजार ३६७ थान मोबाइल नेपाल भित्रिएको भन्सारको तथ्याङ्क छ । यसका लागि नेपालबाट २६ अर्ब ५१ करोड ४७ लाख २० हजार रुपैयाँ बाहिरएको छ । मोबाइल र टेलिफोन आयातबाट सरकारले ४ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आवमा ५५ लाख ८६ हजार ५७८ थान फोन र टेलिफोन उपकरण नेपालले आयात गरेको थियो । जसका लागि ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँ मुलुकबाट बाहिरीएको थियो । सरकारले भने उक्त वर्ष फोन र मोबाइलको आयातबाट ६ अर्ब १ करोड ६० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
मोबाइलको आयात घट्नुलाई व्यवसायीहरुले भने आर्थिक मन्दीसँग जोडेर ब्याख्या गरेका छन् । आर्थिक गतिविधि चलायमान हुँदा मानिसले फेरी फेरी फोन चलाउने गरेकोमा मन्दीको बेला भएकै मोबाइललाई मर्मत गरेर चलाएको उनीहरुको भनाइ छ । व्यवसायीका अनुसार आर्थिक अभावका कारण बजारमा मोबाइलको बिक्री ५० प्रतिशतसम्म घटेको छ ।
मानिसहरु अहिले १२ देखि ३० हजार रुपैयाँसम्मका फोन बढी किनिरहेको र उनीहरूले पनि मर्मत सम्भार गर्दा समेत मोबाइल नचल्ने भएपछि नभइ नहुने अवस्थामा मात्रै मोबाइल किन्ने गरेको व्यवसायीहरू बताउँछन् ।