बिजय फुयाँल

काठमाडौं । अहिले नेपाल बीमा प्राधिकरणलाई गम्भिर आरोप लाग्न थालेको छ । प्राधिकरणलाई एउटा हातले मर्जरमा लाने र अर्को हातले इजाजत अनुमति पत्र (लाइसेन्स) दिएको आरोप लागेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हाल ठुला बीमा कम्पनीहरूको मर्जर र साना लघु बीमा कम्पनीहरूको लाइसेन्स वितरणलाई एक ठाउँमा राखेर हेर्न नहुने बताउँदै आएका छन् । बीमा क्षेत्रका विभिन्न सार्वजनिक कार्यक्रममा अध्यक्ष सिलवालले लघु बीमा कम्पनीको कामको प्रकृति निकै फरक भएकाले पनि यसलाई पुराना तथा ठुला बीमा कम्पनीहरूसँग तुलना गर्न नमिल्ने बताउँदै आएका छन् ।

तर यता बीमा क्षेत्रका सरोकारवालाहरूले भने अध्यक्ष सिलवालको उक्त सुगा रटाई भनाइलाई मान्न तयार छैनन्। लघु बीमाको समेत चुक्ता पुँजी ७५ करोड रुपियाँ तोकिएको र सात वटा लघु बीमा कम्पनीहरू एक साथ आउने पक्का भएकाले यसलाई बीमा कम्पनी होइन भन्ने तर्क बीमा प्राधिकरण गर्न नमिल्ने सरोकारवालाहरु बताउछन्। बीमा गर्नकै लागि साना र ठुला बीमा कम्पनीहरू खडा गरिएकाले पनि प्राधिकरणले त्यस्तो गैर जिम्मेवार तर्क गर्न नसुहाउने बीमा बजारमा बहस हुने गरेको छ ।

केही वर्ष अघि मात्रै धेरै वटा बीमा कम्पनीहरू आवश्यक भएको भन्दै लाइसेन्स दिइएकाले पनि अहिले नै मर्जरमा लाग्नु केही हतारको निर्णय भएको सरोकारवालाले आरोप लगाइरहेको अवस्था छ । अहिले बीमा क्षेत्रमा एक आर्थिक वर्षमै गरिएको मर्जरले ३९ वटा बीमा कम्पनीहरूबाट ह्वात्तै बीमा कम्पनीहरूको संख्या २८ वटामा झारेको छ ।

यस अघि १९ वटा जीवन बीमा कम्पनीहरू रहेकोमा अहिले भने जीवन बीमा कम्पनीहरूको संख्या १४ वटा पुगेको छ । त्यस्तै, विगतमा २० वटा निर्जीवन बीमा कम्पनीहरू संचालनमा थिए भने अहिले मर्जरपछि निर्जीवन बीमा कम्पनीहरूको संख्या पनि १४ वटा रहेको छ ।

साथै, यस अघि नेपाल सरकारको लगानी रहेको एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी (नेपाल री) रहेको थियो भने अहिले निजी क्षेत्रको लगानीमा समेत हिमालयन पुनर्बीमा कम्पनी ल्याइएको अवस्था छ । उक्त हिमालयन पुनर्बीमा कम्पनी पनि अध्यक्ष सिलवालकै पालामा लाइसेन्स प्राप्त कम्पनी हो ।

अहिले लघु बीमा कम्पनीहरूलाई सातै प्रदेशमा बिस्तार गर्ने नीति नेपाल बीमा प्राधिकरणले लिएको छ । सोही नीति अनुसार लघु बीमा कम्पनीहरूको केन्द्रिय कार्यालय हरेक प्रदेशमा अनिवार्य रुपमा राख्नु पर्ने प्राधिकरणले निर्देशन समेत दिएको अवस्था छ । तर, निकट भविष्यमा उक्त लघु बीमा कम्पनीहरू शहर केन्द्रित हुनसक्ने आशंका पनि बीमा क्षेत्रमा नै गर्न थालिएको छ भने उनीहरुले ठुला बीमा कम्पनीहरूको करिब १ अर्ब रुपैयाँ बराबरको बजार समेत खोस्न सक्ने आँकलन गर्न थालिएको छ । अहिले ठुला बीमा कम्पनीहरूले भने लघु बीमा कम्पनीहरूलाई प्रतिस्पर्धी भन्दा पनि आफ्नो असल मित्रको रुपमा हेर्ने प्रतिक्रिया दिइरहेको अवस्था छ ।