काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको बताएका छन् । उनले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै सरकारकाे प्रसंसा गरेका हुन् ।

उनले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान गर्न र जरोसम्म पुग्न सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राखे ।

नेता पौडेलले एक क्वीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको बारेमा संसदमा केही प्रश्नहरु उठेको उल्लेख गरे । उनले भने, ‘म आफ्नो तर्फबाट बधाइ दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ ।’

भ्रष्टाचार र अनियमितताको विषयमा सरकार अगाडि बढ्दा सांसदहरुले टाउको दुखाउन नहुने पौडेलले बताए । ‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरुको सरकार छानबिन गर्ने प्रक्रियामा अगाडि बढेको छ । माननीयजीहरुलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु’, उनले थपे, ‘कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस् ।’