काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद थप गरेको छ ।

स्थानिय बासिन्दाहरुले कम्पनीको आइपीओमा अब साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

उक्त शेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

साथै कम्पनी सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण शेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

स्थानिय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्कमा आई पनि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।