काठमाडौं। पछिल्लो केही समय यता बजारमा गैर कानुनी रूपमा कम्पनीकै लोगो, लेबलसँग मिल्दो जुल्दो लेभल राखी नक्कली उत्पादन बिक्री वितरण भइरहेको पाइएको छ । पूर्णिमा फुड इन्डस्ट्रीले ‘बेनीको प्राउन’ नामक नक्कली ‘प्राउन’ उत्पादन र बिक्री गर्दै आएको तथ्य फेला परेको हो ।
हेटौडामा रहेको पूर्णिमा फुड इन्डस्ट्री प्रालिले उद्योग विभागमा दर्ता नगरी ‘नेस्को प्राउन’ नाम राखी स्पार्टेन एण्ड लोगो नामक ट्रेडमार्कको लेभल उस्तै बनाई बिक्री वितरण गरिरहेको पाइएको छ ।
पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६(२) र दाफा १८(१) को प्रतिबन्धात्मक वाक्यांश विपरित विभागमा ट्रेडमार्क दर्ता नगराई ट्रेडमार्कको लेबलको नक्कल गरी ट्रेडमार्कको ख्यातिमा असर पार्ने काम गरेको छ । उपभोक्ता समेत झुक्किने गरी नेपाल पास्ता फुड प्रालिको लेभलसँग मिल्दो जुल्दो लेभल राखी ‘बेनीको प्राउन’ नामक ‘प्राउन उत्पादन र बिक्री गरेको पाइएको छ ।
यस्ता क्रियाकलापले प्रतिष्ठित संस्थाको ख्यातिमा आँच आउने र कम्पनी नै समस्यामा पर्ने नेपाल पास्ता फुड प्रालिले जनाएको छ । गैर कानुनी रूपमा यस कम्पनीले उद्योग विभागमा दर्ता रहेको नेपाल पास्ता फुड प्रालिको मिल्दो जुल्दो ओरिजिनल जम्बो प्याक ‘प्राउन’को उस्तै चित्र बनाई कलर कम्बिनेसन र डिजाइन हुबहु नक्कल गरी बिक्री वितरण गर्दा कम्पनीको ख्यातिमा प्रभाव पर्ने साथै उपभोक्ताले नक्कली वस्तुको प्रयोग गर्दा स्वास्थ्यमा समेत समस्या देखिने गरेको छ ।