काठमाडौं – राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघले आज स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दो बेथिति र अनियमितताबारे जानकारी दिने ग्यापन पत्र बुझाएको छ।
संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवा महँगो हुनु, मनपरी शुल्क असुल्नु, प्रशिक्षित जनशक्ति अभाव, र निजी संस्थामा श्रमिक शोषण जस्ता समस्या मन्त्री शर्माको ध्यानमा पुर्याएका हुन्। ग्यापन पत्रमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षा, उचित तलब–सुविधा, र निजी अस्पतालहरूमा पारदर्शिता सुनिश्चित गर्न आग्रह गरिएको छ।
यस अवसरमा स्वास्थ्य मन्त्री शर्माले संघका मागहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै, मन्त्रालयले आवश्यक नीतिगत सुधारका पहल गर्ने र ठेक्का प्रथामा संलग्न अस्पतालहरूमा व्यवस्थापनका लागि सूचना जारी गर्ने आश्वासन दिएकी छन्।
ग्यापन बुझाउने क्रममा संघका सह-अध्यक्ष दिनेश पोख्रेल, युथ कमिटिका अध्यक्ष कर्ण विश्वकर्मा, कोषाध्यक्ष तेज कडायत, र सदस्य नेत्र कुसुहवा लगायतका स्वास्थ्यकर्मीहरूको उपस्थिती रहेको थियो।
स्वास्थ्यकर्मी संघले भने, “नियम र पारदर्शिताको अभावले स्वास्थ्य सेवा क्षेत्रमा समस्या बढाइरहेको छ, र ठेक्का प्रथाबाट उत्पन्न असमानता तत्कालै रोकिनुपर्छ,” भन्दै मन्त्री शर्मासँग साझा सुझाव र समाधानको माग गरेको छ।








