काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले समिक्षा अवधिसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३.८८ प्रतिशतले कम हो ।
असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित रहेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशतले बृद्धि भएको छ । सञ्चालन मुनाफा ७.७० प्रतिशतले घटेको छ । बैंकको निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेको छ ।
यस अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ रुपैयाँ ४० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसामा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ।