-झरना कडेल ,आर्थिक भ्वाइस संबाददाता

काठमाडौं । काठमाडौं स्थित माइतिघर मण्डलामा सैयौँ मानिसहरु धर्नामा थिए । कसैको अनुहार मनिलो त कसैको मुहार थकित अनि कसैको मुहार निराश । यस्तै देखिन्थे यत्तिकैमा त्यो भिडभन्दा थोरै भित्र एक जना ब्यक्ती, हातमा क्यानुला, अनुहारमा निरासता सुकेको समुख र कापिरहेको जिउ लिएर सुतिरहेका रहेछन् । बोल्न पनि नसक्ने अवस्थामा रहेका उनको यस्तो हालत अनसनका कारण रहेछ ।

स्थाई घर गुल्मीको गुल्मीदरबार गाउँपालिका बलिथुम भएका ज्ञवाली अनसन बसेको १६ दिन भयो । उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ, तर उनले सरकारले आफुहरुको माग पुरा नगरे अनसन नतोड्ने बताउछन् । वित्तिय संस्था अन्र्तगत ‘घ’ बर्गका लघुवित्तहरुले गाउँ–गाउँमा न्युन आय भएका महिलाहरुलाई शोषण गरेको भन्दै अभियान्ता मनिराम ज्ञवाली आमरण अनशनमा बसेका हुन् भने अन्य हजारौँ अभियान्ताहरुले काठमाडौंको माइतिघरमा धर्ना दिइरहेका छन् ।

१७ महिना अगाडिदेखि अर्थात २०७८माघ १ गते बाट सिता रेश्मीले बिद्रोह गरेको आन्दोलनलाई उनले साथ दिदैँ आएको ज्ञवालीले बताए । वित्तिय संस्था बिरुद्धको संघर्ष समिति, नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका ज्ञवालीले लघुबित्तिय पिडितहरुले उठाएको पाँच बुँदे माग पुरा गर्नुपर्ने, मिटरब्याज ठगीहरुलाई कारवाही गरी जाली तमसुक र चेक रद्ध गरिदिने लगायतका माग सहित आफुसहित ५ जना अनसन बसेको बताएका छन् ।

उनीसहितका देशभरीका अन्य लघुवित्त पीडितहरु माइतिघर मण्डलामा आमरण अनशन बसेका छन् । उनीहरु वर्षातमा पनि घाम पानि नभनीकन आमरण अनशनमा बसेका छन् । अझै उनीहरुले प्रयोग गर्ने शौचालय पनि छैन तर त्याहा कोही होटलको शौचालय प्रयोग गर्छन त कोही अस्पतालको । सरकारले उनीहरुसंग पटक–पटक विभिन्न मितिमा सम्झौता गरेर पनि कार्यान्वयन नगरेपछि उनीहरु आमरण अनशनमा बस्नुपरेको बताएका छन् ।

अनशनरत ज्ञवालीले राष्ट्र बैंक मातहत रहेका सम्पुर्ण लघुवित्तहरुको लाइसन्स खारेज गरि पिडित मधेश प्रदेश तथा सुदुर पहाडका लघुवित्त पिडितको ऋिण मिनाहा गर्न माग गरेका छन् । उनले सरकारसंग आफ्नो माग पुरा नभएसम्म आफुँ आमरण अनशनमा बसिरहने र ज्यान रहेसम्म सम्पुर्ण लघुवित्त पिडित महिलाहरुलाई न्याय दिलाएरै छाड्ने बताए ।

झापाकी लुजा राई पनि लघुबित्त खारेजको माग गर्दै ९ दन देखि आमरण अनशनमा बसेकी छिन्। आन्दोलन सुरु गरेको १७ महिना बितिसक्दा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै सरकारलाई झक्झकाउन, न्याय माग्न माइतिघर मण्डलामा आएर अनशन बसेको उनको भनाई छ ।

लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपाल झापाकी अध्यक्ष समेत रहेकी लुजाज राई पनि लघुबित्त पिडित रहिछिन् । उनका अनुसार, जतिबेला उनलाई लघुवित्त संस्था भनेको थाहा पनि थिएन, त्यो बेला लघुवित्त उनको गाउँघरमा आएर एउटा समुह बनाइदिनुस तपाइहरुलाई हामी घरमै पैसा ल्याएर दिन्छौ भनेका थिए । वित्तिय संस्थामा आवद्ध गराएको तर वित्तिय संस्थाको बारेमा केही नसिकाएको उनको भनाई छ ।

१२ बर्ष अगाडि देखि लघुवित्तका समुहमा जोडिएका हौँ हामी,‘उनले भनिन्,‘हाम्रो दिदिबहिनीहरु २० औँ बर्षदेखि लघुवित्तमा फसेका छन् , उनीहरुलाई एक लाख लोन दिन १० ओटा शिर्षकमा बचत गराइएका हुन्छन् त्यो ब्याजको हिसाबकिताब कस्ले गरिदिने त? अहिले उनीहरुले गरेका बचतको हिसावकिताव छैन। उनीहरुले दिएको ऋिणको हिसाव गरिन्छ,तर महिलाहरुले गरेको बचतको हिसाव खै ? बचत फिर्ता माग्न जाँदा बचत फिर्ता नदिएर ऋिण दिएर पठाउने गरेको उनको भनाई छ ।

एक लाख ऋिण लिदाँ १५ हजार कटाएरै दिने गरेको उनले बताइन् । न्याय माग्न काठमाडौको माइतिघर मण्डलामा अनशन बसेका र धर्ना दिएका पिडितहरुलाई खाना बस्न र शौचालय नदिए पिडितहरु यत्तिकै भाग्छन् भनेर सरकारले भगाउन खोजेको उनको आरोप छ ।

लुजा राई मात्र होइन, उनको छेवैमा बसेकी कुसुम खातुन पनि अनशन बसेको आज ९ दिन भयो ।संघर्ष समिति सुनसरीकी अध्यक्ष समेत रहेकी कुशुम ८ महिना अघिदेखि सुनसरीमा आन्दोलन गरि त्याहाँ सुनुवाई नभएर केन्द्रमा सरकारको ढोका ढकढकाउन आएको बताइन् । उनी आफैँ पनि जिवन बिकास लघुवित्त, निरुडे लघुवित्त लगायत अन्य ६–७ वटा वित्तिय संस्थाबाट ठगिएको उनी बताउछिन् ।

सुरुमा आफै जम्मा गर्नुहोस भविष्य राम्रो हुन्छ भनेर घरमै आएका लघुवित्तहरुले बिस्तारै ज्यादती गर्न तर्फ लागेका छन् । उनले भनिन् ‘छोराको पढाई राम्रो होला भनेर लघुवित्तमा लागेँ अहिले मेरो छोराको १२ को परिक्षा फी तिर्न नसकेर लघुवित्तमा आफ्नो बचत माग्न जाँदा खुट्टा ढोगे नी दिन्नम भनेर दिएनन्,’ फी तिर्न नसकेर मेरो छोराले १२ को परिक्षा दिन पाएन उनले रुदैँ भनिन् ।

महिलाहरु मिटरब्याजमा फस्नुको कारण लघुवित्तनै हुन्, उनले भनिन् ‘लघुबित्तलाई एक लाख ऋिण मागे १५ हजार कटाएर दिन्छन् आफुले कतै तिर्नुपर्ने १ लाख नै हुन्छ अनि पुग्दैन मिटरब्याजीकोमा गएर माग्यो ४ दिनको ब्याज नै सावाँको डबल लिन्छु हुन्छ ? भन्छन् लिनै पर्यो अनि फसिन्छ। हामीले गरेको बचतले हामीलाई नै फासिमा चढाउछ भन्ने हामीलाई नै थाहा भएन।’ मिटरब्याजी र लघुवित्तका कारण कत्ति महिलाले ज्यान नै गुमाउनुपरेको उनले बताईन् ।

माइतिघर मण्डलामै ७ दिन दखि अनशन बसेकी गोरखा सिमिगाउँकी गिता गुरुङले लघुवित्तले दिएको ऋिण भुकम्पपछि केही समय तिर्न नसक्दा लघुवित्तको ज्यादती बढेको बताईन। त्यो समयदेखि नै आफुलाई पैसा तिरिरहदाँ पनि टर्चर दिइरहेको उनको भनाई छ ।

लोन दिन्छन्, किस्ता तिर्छौँ तर कहिल्यै तिरेर सकिकदैन बढेको बढ्यै उनले भनिन्,‘१ लाखको किस्ता ३ बर्ष तिर्दा पनि सकिन्न, हाम्रो तिर्नुपर्ने कति छ भन्दा पनि हिसाव नै देखाउन्नन्, तपाईले तिर्नु नै भएको छैन मात्रै भन्छन् । बिमा गर्छन हामी पैसा तिर्छौँ तर हामीलाई न पासबुक दिन्छन न बिमा कार्ड नै । हामिले बचत गरेको पैसाको लेखोजोखो छैन, यो दलदलबाट कसरी हामी निस्किने कसरी हाम्रो पैसा ?’उनले आफुले ३ बर्ष सम्म गरेको ब्यक्तिगत बचतको समेत हिसाव नदेखाएको बताइन् ।

सुर्खेतकी नन्दकला कामि पनि वित्तिय संस्थाको खारेजिको माग सहित अनशन बसेको ८ दिन भयो । उनी
एकल महिला हुन् । आफ्ना छोराछोरीको भविष्य राम्रो होस भनेर लघुवित्तमा लागेको बताउने उनी आफुलाई मात्रै नभएर धेरै महिलाहरुलाई लघुवित्तले ठगेको भएर अनशन बसेको बताइन् । वित्तिय संस्थाले पिडितको हर्जना र ब्याजलाई सावा बनाएुर त्यसमा थप ब्याज लगाइदिएर अशुली गर्दापनि उनीहरुकै ज्यादती बढेकाले बाध्य भएर अनशन बस्नुपरेको उनको भनाई छ ।

लम्जुङ भोर्लेटारकी ६२ बर्षिय इन्द्रीमाया परियार आफ्नी बुहारीसंगै माइतिघर मण्डलामा धर्ना दिएर बसेकी छन् । छोराले लालपुर्जा राखेर ६ बर्ष अगाडि लिएको लोन २ बर्ष बिदेश बसेर तिर्दा पनि नसकिएको बताउछीन् । म अस्पतालमा हुदाँ मेरो पसल नै फोरिदियछन् ,उनले भनिन्,‘छोरालाई अल्सर भएर नेपाल फर्कियो, छोरालाई लिएर अस्पताल गएको थिएँ त्यही बेला आएर हाम्रो पसल नै फोरेर सामान लिएर गएछन् अझै ८ हजार पुगेन भन्दै आए, खै मानवता? तिर्दा तिदै पछि ज्यादती ? यही कारणले मेरा श्रीमानलाई हार्टअट्याक आएर बित्नुभयो ।’लालपुर्जा पनि अझै वित्तिय संस्थामै रहेको तथा आफुहरुको अवस्था बिग्रदै गएकाले न्याय माग्दै काठमाडौं आइपुगेको उनको भनाई छ ।

उनी जस्तै हजारौँको संख्यामा महिलाहरु न्याय माग्दै काठमाडौं भित्रिएका छन् । उनीहरुले माइतिघर मण्डला , सिहदरबार, रत्नपार्क लगायतका क्षेत्रमा प्रर्दशन गरिरहेका छन्, जसका कारण हरेक दिन सडक अवरुद्ध हुन्छ र आम नागरिकले सास्ती भोगिरहेका छन् ।