काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा आज आइतबार साउन १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको हो । उक्त आइपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अर्थात साउन १३ गते विहान १०ः०६ बजेसम्म २५ हजार ७२९ जनाले ४३ करोड ८९ लाख ७ हजार २०० रुपैयाँ बरारबको १७ लाख ९८ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियमवापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीका लागी सुरक्षित गरेको छ ।

साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।