बिजय फुयाँल
काठमाडौँ । बीमा क्षेत्र अरूको जोखिम बहन गर्ने क्षेत्र हो भने यसमा (एक्चुरी) बीमांकीको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । उनीहरूले बीमा कम्पनीहरूको वर्तमान अवस्था र भविष्यलाई समेत आङ्कलन गर्ने गर्छन् । एक्चुरी बिना कुनै पनि बीमा कम्पनीहरूले आफ्नो वित्तीय विवरण, बीमा पोलिसी, बलियो योजनाहरू तह गर्न सक्दैनन् । अहिले त्यस्तो एक्चुरीको माग धेरै भए पनि संख्या निकै कम छ । बीमा प्राधिकरणले आगामी दिनमा एक्चुरीको संख्या बढाउने अन्तिम तयारी गरी रहेको जनाएको हो ।
त्यसैले पनि एक्चुरी बीमामा सधैँ महत्त्वपूर्ण मानिने गर्छ । यो उनीहरूले गर्ने कामले गर्दा हो । नेपालमा एक्चुरीको पढाई हुँदैन । प्राय जसो नेपाली बीमा क्षेत्रमा एक्चुरीको अभाव हुने गरेको जानकारहरू बताउँछन् ।
के हो एक्चुरी ?
एक्चुरी भन्नाले बीमामा सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्ने व्यक्तिहरू हुन् । त्यस्ता व्यक्तिले भविष्यमा आउने जोखिमको दायित्व निर्धारण गर्छन् भने यसरी नै उनीहरूले बीमा शुल्कमा के कस्ता जोखिम आउन सक्छन् भन्ने कुराको अग्रिम निर्णय गर्ने गर्छन् । यसरी नै आज गरेको बीमा भोलिका दिनमा के कस्तो हुन्छ भन्ने जस्ता निर्णय लिन एक्चुरी अपरिहार्य मानिन्छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओहरुका अनुसार हालसम्म एक्चुरी भारतबाट नै मगाउनु पर्ने बाध्यता छ । पछिल्लो समय त्रिभुवन विश्व विद्यालयले नेपालमा एक्चुरी पढाउन सहज होस भनेर पहल गरेको अवस्था छ।
यस्ता हुन्छन् एक्चुरीका विद्यार्थी
एक्चुरी पढ्न एम.ए. मा म्याथम्याटीक्स पास गरेको विद्यार्थी हुन जरुरी छ । म्याथम्याटीक्स तथा स्टाटस्टीक्स लिएका विद्यार्थीलाई अध्ययन गर्न पनि सहज हुन्छ । एक्चुरी पढ्न चाहने विद्यार्थीले नेपाल बाहिर गएर यसको शिक्षा आर्जन गर्ने गरेको पाइन्छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले समेत एक्चुरी अध्ययनको सहजताको लागि यसका सहयोगी विषय राखेको पाइन्छ ।
एक्चुरी पढ्न केही सहयोगी होस भनेर त्रि.वि.ले एम.ए.मा म्याथम्याटीकल साइन्सको सुरुवात गरेको छ । यसमा २ वर्षको सेमेस्टर रहन्छ । यसरी एक्चुरीको पढाई सुरुवाती चरणमा रहेकाले यसको पूर्णतया अध्ययन गर्न अहिले भने भारत पुग्नै पर्छ । आगामी दिनमा एक्चुरीको शिक्षा नेपालमा नै उपलब्ध गराउन त्रि.वि.को केही तत्परता भने अवश्य देखाएको छ ।
अहिले एक्चुरी पढ्न चाहने इच्छुकको संख्या धेरै छ । तर सोही अनुसारको माग पूरा गर्न त्रि.वि. लाई केही समय लाग्ने देखिन्छ । साथै नेपालबाट छात्रवृत्ति लिएर गएका विद्यार्थी पनि विदेशमा नै काम गर्न रुचाउने गरेको पाइन्छ । यो विषय पढ्न धेरै खर्च लाग्ने तथा नेपालमा पढ्न नपाइने भएकाले एक्चुरीको अभाव हुनु पनि स्वाभाविक नै हो ।
तर निकट भविष्यमा नेपालमै विद्यार्थीलाई एक्चुरी पढन सहज होस भनेर म्याथ विषयमा त्रि.वि.ले चालेको कदम भने सकारात्मक मान्न सकिन्छ ।
आर्थिक अवस्था कस्तो हुनुपर्छ ?
एक्चुरी पढ्न मध्यम आय स्तर भएका व्यक्तिलाई निकै कठिन छ । यो विषय पढ्न नेपाली विद्यार्थीहरू भारत जाने गरेको पाइन्छ । यसरी भारतमा गएर सो विषयको अध्ययन गर्दा करिब ४० लाख लाग्ने गर्छ । सोही विषय अन्य देशमा गएर अध्ययन गर्दा भने ८० देखी ८५ लाखसम्म लाग्ने गरेको पाइन्छ ।
एक्चुरी पढन लाग्ने समय अवधि कम्तीमा ८ वर्षको हुने गर्छ । प्लस टुमा म्याथ विषय लिएर पास गरेको विद्यार्थीले मात्र एक्चुरीको अध्ययन गर्न पाउँछन् । यसरी म्याथ विषय लिएर प्स टु सकेका विद्यार्थीले ४ वर्ष डिप्लोमाको अध्ययन गर्नु पर्छ । यसरी डिप्लोमाको अध्ययन गरे पश्चात् ४ वर्ष फेलोसिपको अध्ययन गर्नु पर्छ । एक्चुरी पढ्ने खर्च ठाउँ अनुसार फरक फरक हुन्छ । यस्तै कारणले गर्दा पनि एक्चुरी विषयमा लाग्ने खर्चमा केही भिन्नता हुने गरेको पनि पाइन्छ ।
यो विषय पढ्न लामो समय लाग्ने भएकाले कतिपय विद्यार्थीले बिचमा नै अध्ययन गर्नै छाडने गरेको पाइन्छ । यस्तै कारणलेपनि नेपालमा एक्चुरीको अभाव खडकीएको सघाएको पाइन्छ ।
बीमा क्षेत्रभन्दा बाहिर पनि काम लाग्ने
एक्चुरी अध्ययन गरेका व्यक्तिले बीमा क्षेत्रमा मात्र काम गर्नु पर्छ भन्ने छैन । एक्चुरीको अध्ययन पश्चात् त्यस्ता व्यक्तिले विभिन्न कम्पनी, प्रोजेक्ट, कर्मचारी संञ्चय कोष तथा विभिन्न क्षेत्रमा समेत काम गर्न सक्छन् । यसरी विभिन्न क्षेत्रका दायित्वका सवालमा एक्चुरी महत्त्वपूर्ण मानिन्छन् । उनीहरूले भविष्यमा हुने जोखिमको बारेमा अग्रिम अध्ययन गर्ने भएकाले उनीहरूको भूमिका बीमा क्षेत्र बाहेकका संस्थामापनि आवश्यक हुने गर्छ ।
जीवन बीमामा तिरेका पैसाको हिसाब किताबको लागि एक्चुरी बीमामा अभिन्न बनेको पाइन्छ । साथै, त्यस्ता व्यक्तीलाई बीमाङ्की भन्न सकिने विज्ञहरूले जानकारी दिए । अहिले नेपालमा एक जना मात्रै एक्चुरी प्रेक्षामाथेमा रहेको बीमा प्राधिकरणले जनाएको छ । उक्त एक मात्र संख्यामा रहेको एक्चुरीले नेपाल बीमा प्राधिकरणको मातहतमा रहेर काम गर्दै आएका छन् । बीमा प्राधिकरणले निकट भविष्यमा एक्चुरीको संख्या बढाउन पनि पहल गरी रहेको बुझिएको छ ।