काठमाडौँ । सरकारले इथानोल मिश्रण गर्ने प्रस्ताव स्वीकृत गर्ने आश्वासन दिएको झण्डै दुई दशकपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश २०८२ स्वीकृत गर्ने ऐतिहासिक निर्णय गरेको छ।

सरकारी स्तरबाट गरिएको निर्णयले नेपाललाई दक्षिण एशियामा पेट्रोलमा इथानोल मिश्रण प्रयोग गर्ने दिशामा पहिलो कदम चालेको हो। यो निर्णयले उखु उद्योगीहरूको करिब दुई दशक लामो प्रयासलाई सफलताको रङ्ग प्रदान गरेको छ। विश्वका अधिकांश मुलुक र छिमेकी भारतमा यसलाई पहिले नै लागू गरिएको छ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने मन्त्रिपरिषद्को निर्णयको पूर्ण पाठ आउन बाँकी रहेको उक्त निर्णय कार्यान्वयन गर्नु निगमको जिम्मेवारी रहेको बताएका छन् । हाल नेपालमा चिनी उद्योगले मोलासिस (खुदो) प्रशोधन गरी इथानोल उत्पादन गर्दै आएका छन्। उद्योगीहरूको भनाइ अनुसार, विदेशमा १५ प्रतिशतसम्म इथानोल प्रयोग भए पनि, नेपालको हालको उत्पादन क्षमता दुई प्रतिशत मात्रै मिश्रण सम्भव बनाउँछ।

उद्योगीहरूका अनुसार पेट्रोलमा इथानोल मिश्रण भए वार्षिक करिब १२.५ अर्ब रुपैयाँ मूल्य बराबरको पेट्रोल आयात घटाउन सकिने आकलन छ। इथानोल मिश्रित पेट्रोल प्रयोगले इन्जिनको क्षमता बढाउने, माइलेज सुधार्ने र प्रदूषण कम गर्ने अतिरिक्त फाइदा पुर्‍याउँने जानकारहरूको भनाई छ। यो उखु, पराल, सुकेका घाँस लगायतबाट उत्पादन गर्न सकिन्छ।

नेपालमा दैनिक करिब ४० लाख लिटर पेट्रोल खपत हुन्छ। आयल निगमको अध्ययन अनुसार, यदि पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकियो भने, दैनिक करिब चार लाख लिटर पेट्रोल खपत घटाउन सकिन्छ, जसले विदेशी मुद्रा बचतमा ठुलो योगदान पुर्‍याउँछ।

निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई करिब ८५ रुपैयाँ भुक्तानी गर्दै आएको छ। इथानोल मिश्रित पेट्रोल प्रयोगले न केवल पेट्रोल आयात घटाउनेछ, तर सवारी साधनको प्रदर्शनमा पनि सुधार ल्याउनेछ।

विदेशमा इथानोल प्रयोगलाई अनिवार्य गरिएको यस कदम नेपालका लागि पनि रणनीतिक र वातावरणमैत्री विकल्प बन्ने उद्योगीहरूले आशय व्यक्त गरेका छन् ।