काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाली शेयर बजारमा सामान्य सुधार देखिएको छ। दिनभर उतार–चढावबीच कारोबार भएको बजार अन्तिम समयमा आएर सम्हालिँदा नेप्से सूचक हरियालीमा बन्द भएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेर २६४०.५४ बिन्दुमा कायम भएको छ। कारोबारका क्रममा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ पुगेको छ।
यस दिन १३ उपसूचकमध्ये ७ उपसूचकमा वृद्धि देखिएको छ भने ६ उपसूचक ओरालो लागेका छन्। बजारमा १२९ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबारका आधारमा केही कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। सान्भी इनर्जीको शेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, एसवाइ प्यानल नेपालको शेयर मूल्य ५.७१ प्रतिशतले बढ्दा खानीखोला हाइड्रोपावरको शेयर मूल्य ४.६३ प्रतिशतले उकालो लागेको छ।
साताको अन्तिम कारोबारमा सीमित अंकको सुधार देखिए पनि कारोबार रकम झण्डै ५ अर्ब नजिक पुगेकाले बजारमा लगानीकर्ताको सक्रियता कायमै रहेको संकेत देखिएको छ।








