काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले त्रासमा काम गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ। ज्योति विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंकका कर्मचारीहरुमाथि भएको आक्रमण, दुव्र्यवहार, गाली–गलौच र धम्कीका घटनाहरूले बैंकिङ क्षेत्रमा त्रासको माहोल सिर्जना गरेको हो।

बैंकका कर्मचारीहरू कहिले कर्जा असुली गर्न जाँदा फिल्डमै कुटिइरहेका छन् भने कहिले शाखा कार्यालयमै हुलहुज्जत गरेर डरको माहोल सृजना गरिदैछ। पछिल्ला घटनाक्रमका कारण असुरक्षित महसुस भइरहेकाले दैनिक कार्य सम्पादनमा समेत असर परिरहेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले गुनासो गरिरहेका छन्।

यसैबीच नेपाल बैंकर्स संघ (एनबीए)ले कर्मचारीहरूले काम गर्ने क्रममा भोगिरहेको असुरक्षा, डर र मानसिक तनाव बैंकिङ सेवा निरन्तरता र वित्तीय प्रणालीको स्थायित्वका लागि चुनौती बन्न पुगेको जनाएको छ। एनबीएले बुधबार काठमाडौंमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघ–संगठनका प्रतिनिधिहरूसँग यस विषयमा छलफल समेत गरेको छ। छलफलमा सहभागी बैंकका सिइओहरूले कर्मचारीमाथि भइरहेको आक्रमण र धम्कीका घटनाहरूको फोटो–भिडियो प्रहरीसमक्ष बुझाउँदा पनि प्रभावकारी कारबाही हुन नसकेको गुनासो पोखेका छन्।

प्रधानमन्त्री गुहार्दै बैंकर्स

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण, धम्की र दुव्र्यवहारका घटना बढ्न थालेपछि नेपाल बैंकर्स संघ प्रधानमन्त्री गुहार्न थालेको छ। बैंकका कर्मचारी माथिको आक्रमण नरोकिएकाले सरकारले तुरुन्त कदम चाल्नुपर्ने भन्दै प्रधानमन्त्रीसँग भेटघाट गरेर आफ्नो माग राख्ने तयारी बैंकर्स संघ लगायत विभिन्न कर्मचारी संघ संगठनहरूको रहेको छ।

उक्त विषयमा प्रधानमन्त्री शुशीला कार्कीको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेट्ने समय मागेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आर्थिक भ्वाइसलाई जानकारी दिए। कोइराला भन्छन्, “प्रधानमन्त्री शुशीला कार्कीसँग भेटघाट गर्छौँ अनि हाम्रा कुराहरू राख्छौँ। यसरी बैंक तथा वित्तीय संस्था माथि सँधैभरी आक्रमण भइरहँदा भोलीको दिनमा बैंक तथा वित्तीय संस्थाहरु चलाउन सक्ने अवस्था नरहने देखिन्छ। भौतिक आक्रमण गर्ने, दुव्र्यवहार गर्ने—यस्तो हुनुहुँदैन। कर्मचारीहरूले सुरक्षित भएर कार्य सम्पादन गर्न पाउनुपर्छ।”

अर्थतन्त्रका लागि खतराको घण्टी, सरकार कानमा तेल हालेर बसेको विज्ञहरूको गुनासो

बैंक कर्मचारीमाथि भएका आक्रमण र धम्कीका घटनाले बैंकिङ सेवा मात्र नभई समग्र वित्तीय प्रणाली र अर्थतन्त्रमै समेत असर पुर्याउने जोखिम बढेको भन्दै उनले कर्मचारी सुरक्षा सुनिश्चित गर्नु अहिलको प्रमुख प्राथमिकता बनिसकेको बताए।

उनले भने, “हिजो हामी छलफलमा बसेका थियौँ। चारैवटा बैंक तथा वित्तीय संस्थाका संघ–संगठनको मिटिंग बसेको थियो। बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट संघ र कर्मचारीका संघहरुसँग हामीले विस्तृत छलफल गरेका थियौँ। सबैबाट कर्मचारीमाथि भइरहेको आक्रमण र धम्कीका घटनाहरूको रिपोर्ट पेश भयो। हामीले प्रधानमन्त्रीसँग समय माग्ने निर्णय गरेका छौँ। त्यसपछि गृहमन्त्री र अन्य सरोकारवालासँग पनि कुरा गर्ने योजना बनाएका छौँ।”

के भन्छ राष्ट्र बैंक ?

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि भइरहेका निरन्तर आक्रमण, धम्की र दुव्र्यवहारबारे नेपाल राष्ट्र बैंकले पनि गम्भीर चासो व्यक्त गरेको छ। यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले आर्थिक भ्वाइससँग कुरा गर्दै बैंकका कर्मचारीमाथि भएका आक्रमण र अमानवीय दुव्र्यवहारको घोर भत्र्सना गरे।

राष्ट्र बैंकले घाँटी निमोठेको बैंकासुरेन्स : विश्वभर अभ्यासमा, नेपालमा भने प्रतिबन्ध

प्रवक्ता पौडेलले भने, “बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण हुँदा यसले समग्र वित्तीय प्रणालीमा असर पार्छ। नेपाल राष्ट्र बैंक यस्ता अमानवीय क्रियाकलापको घोर भत्र्सना गर्दछ।“

उनले कानूनी रूपमा कारबाही गर्ने, शान्ति सुरक्षा स्थापना गर्ने, सुरक्षित वातावरण निर्माण गर्ने कार्य राष्ट्र बैंक एक्लैले चाहेर पनि सम्भव नहुने भएकाले यसमा गृह प्रशासन, शान्ति सुरक्षा निकाय र अन्य सम्पूर्ण सरोकारवालाहरूको पनि उत्तिकै चिन्ता र चासो आवश्यक रहेको बताए।

कर्मचारीमाथि हुने आक्रमणले बैंकिङ सेवा मात्र नभई समग्र वित्तीय कारोबारमा बाधा पुर्याउने भएकाले सम्बन्धित सबै निकायले मिलेर सुरक्षित वातावरण सुनिश्चित गर्नु अत्यावश्यक रहेको प्रबक्ता पौडेलको भनाइ छ।

उनी भन्छन्, “बैंकको प्रणाली वा कर्मचारीसँग कुनै समस्या छ भने सहज र शान्तिपूर्ण ढंगले वार्ता र छलफलबाट समाधान गर्न सकिन्छ। तर एक–दुई घटनालाई मात्र जर्नलाइज गरेर समग्र कर्मचारी वा बैंकिङ प्रणालीप्रति नै नकारात्मक धारणा बनाइयो भने यसले सम्पूर्ण वित्तीय प्रणालीमा दीर्घकालीन असर पार्छ। त्यसैले यस्ता घटनालाई समयमै निराकरण गर्न जरुरी छ।”

आजको समयमा बैंक तथा वित्तीय संस्था बिना अर्थतन्त्रको संचालन सम्भव नभएकाले सबै सरोकारवालाले मिलेर सुरक्षित वातावरण निर्माण गर्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ। उनले राष्ट्र बैंकले यस्ता घटनाका सम्बन्धमा सरकारलाई जानकारी गराइरहेको पनि जानकारी दिए।

पौडेलले भने, “हामी आवश्यक शान्ति सुरक्षा स्थापना गर्न र वित्तीय कारोबार सहज ढंगले गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ। सबैले सुरक्षित वातावरण निर्माणमा साथ दिनुपर्छ।”

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको सुरक्षा र मानसिक शान्ति सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ। लगातार हुने आक्रमण, धम्की र दुव्र्यवहारले न केवल व्यक्तिगत स्तरमा कर्मचारीहरूलाई असुरक्षित बनाएको छ, समग्र बैंकिङ सेवा र वित्तीय प्रणालीको स्थायित्वमा समेत जोखिम उत्पन्न गरिरहेको छ।

बैंकर्स संघ, राष्ट्र बैंक र सम्बन्धित सरकारी निकायहरूले मिलेर तत्काल प्रभावकारी सुरक्षा उपाय र कानूनी कारबाही सुनिश्चित गर्नु आवश्यक छ। यसबाट मात्र कर्मचारीहरू सुरक्षित भएर आफ्नो दायित्व पूरा गर्न सक्नेछन् र अर्थतन्त्रको सहज सञ्चालन सुनिश्चित हुनेछ।