काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७८.५० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ दशमलव ५२ प्रतिशतले घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १६ दशमलव ३३ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको सञ्चालन मुनाफा ७९.०४ प्रतिशतले घटेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ । ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसा रहेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ ।