काठमाडौँ । सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बैंकले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो ।

बैंकको आईपीओमा कुल २३ लाख २ हजार ८४३ जना आवेदकबाट २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये २२ लाख ६५ हजार ९५५ वटा आवेदन स्वीकृत भएका छन् ।

मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथामार्फत १ लाख ४३ हजार ९१७ जना लगानीकर्ताले न्यूनतम १०–१० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् । बाँडफाँडपछि बाँकी रहेका ९ कित्ता शेयरसमेत गोला प्रथाबाट वितरण गरिएको छ । जसअनुसार ९ जना लगानीकर्ताले ११–११ कित्ता शेयर प्राप्त गरेका छन् ।

बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो । यसको कुल निष्कासन रकम १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबर रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सालपा विकास बैंक लिमिटेड खोटाङ जिल्लामा केन्द्रित एक जिल्ला स्तरको विकास बैंक हो । बैंकको मुख्य कार्यालय खोटाङमै रहेको छ भने हाल ६ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।