काठमाडौं । विदेशी मुद्रा संचिति बढेको छ । चालु वर्षको ५ महिनामा विदेशी मुद्रा संचिति २२ अर्ब १३ करोड अमेरिकी डलर पुगेको हो ।
सो संचितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।

विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा ३२ खर्ब १ अर्ब कुल ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । चालु खाता रु.३५८ अर्ब ८३ करोड र शोधनान्तर रु.४२१ अर्ब ८९ करोड बचतमा रहेको छ ।

समिक्षा अवधिमा निर्यात ५८.२ प्रतिशत र आयात १५.८ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च रु.५६४ अर्ब ४६ करोड र राजस्व परिचालन रु.४०६ अर्ब ३० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७४ प्रतिशत र ९१- दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.२६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/0८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु.८७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४७ प्रतिशतले बढेको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११८ अर्ब ७९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय ( खुद ट्रान्सफर) रु. ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत नयाँ ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।