काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) उल्लेखनीय रूपमा घट्दै १.६३ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा ६.०५ प्रतिशत रहेको मुद्रास्फीति यस वर्ष उल्लेख्य रूपमा कम भएको हो।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.९२ प्रतिशत रहेको थियो।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत तथा दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ। यद्यपि, तरकारी उप–समूहको मूल्य सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत तथा दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशतले बढेको छ। यस्तै, शिक्षामा ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थमा ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थमा ३.८५ प्रतिशत मूल्य वृद्धि भएको छ। बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क भने ०.२३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको १.८३ प्रतिशतले वृद्धि भएको छ। प्रदेशगत विश्लेषण अनुसार कोशी प्रदेशमा २.५४ प्रतिशत, मधेश प्रदेशमा २.०१ प्रतिशत, बागमती प्रदेशमा १.४८ प्रतिशत, गण्डकी प्रदेशमा १.०८ प्रतिशत, लुम्बिनी प्रदेशमा १.६७ प्रतिशत, कर्णाली प्रदेशमा १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.४० प्रतिशत वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति रहेको छ।

भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति १.९५ प्रतिशत, तराईमा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमाली क्षेत्रमा १.४७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।