काठमाडौं। नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १.९ प्रतिशतले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै कर्जा प्रवाहमा पनि सामान्य वृद्धि देखिएको हो।

वार्षिक विन्दुगत आधारमा २०८२ मंसिर मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ। कुल कर्जा प्रवाहमध्ये गैर वित्तीय संस्थागत क्षेत्रले ६२.७ प्रतिशत हिस्सा ओगटेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

संस्थागत संरचनाअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.० प्रतिशतले बढेको छ। यस्तै, विकास बैंकहरूको कर्जा ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि भएको छ।

क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा निर्माण क्षेत्रतर्फ कर्जा ५.२ प्रतिशतले बढेको छ। उपभोग्य क्षेत्रतर्फ ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.५ प्रतिशत र सेवा उद्योगतर्फ ०.४ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको देखिन्छ। यद्यपि, कृषि क्षेत्र तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा भने २.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

कर्जाको प्रकृतिअनुसार हायर पर्चेज कर्जा ६.१ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ। व्यक्तिगत आवासीय घर कर्जासमेत समेटिने रियल स्टेट कर्जा ३.७ प्रतिशतले बढेको छ। यस्तै, क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने ५.४ प्रतिशतले घटेको छ।