काठमाडौं । माघ ६ गते मंगलबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। उक्त निष्काशनमा २१ लाख ९९ हजार २६ जना आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदनहरू रद्द गरिएको छ।

निष्काशित शेयरको तुलनामा माग अत्यधिक भएपछि गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको हो। गोलाप्रथाबाट ४६ हजार ६८१ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेका ७ कित्ता शेयर पनि सोही समूहका लगानीकर्तामाझ बाँडफाँट गरिएको छ। यसअनुसार ७ जना भाग्यमानी आवेदकले थप एक कित्ता पाउँदै कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।