काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने विभिन्न वस्तुमा लाग्ने ट्यारिफ बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। हाल १५ प्रतिशत रहेको ट्यारिफ कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लागू हुने गरी वृद्धि गरिएको हो।
राष्ट्रपति ट्रम्पले उक्त निर्णयबारे जानकारी सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेका हुन्। उनले यस नीतिलाई ‘रेसिप्रोकल ट्यारिफ’को संज्ञा दिएका छन्। कुनै देशले अमेरिकी वस्तुमा उच्च आयात शुल्क लगाएको खण्डमा अमेरिकाले पनि सोही देशबाट आयात हुने वस्तुमा समान रूपमा उच्च ट्यारिफ लगाउने नीति नै रेसिप्रोकल ट्यारिफ हो।
ट्रम्पले दक्षिण कोरियाले गत वर्ष सम्पन्न भएको व्यापार सम्झौतालाई ‘ठीक ढंगले कार्यान्वयन नगरेको’ आरोप लगाउँदै ट्यारिफ वृद्धि गरिएको बताएका छन्। उनका अनुसार दक्षिण कोरियाको संसदले उक्त सम्झौतालाई अनुमोदन गर्न ढिलाइ गरेको छ, जबकि अमेरिकाले सम्झौताअनुसार आफ्ना ट्यारिफहरू समयमै घटाइसकेको दाबी गरेका छन्।
यता, दक्षिण कोरियाले भने ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने धारणा दक्षिण कोरियाको रहेको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकाले दक्षिण कोरियाबाट मुख्यत: औद्योगिक तथा उच्च प्रविधिका सामान आयात गर्दै आएको छ। विशेषगरी हुन्डाई र किआजस्ता ब्रान्डका कार तथा अटो पार्ट्स प्रमुख आयात वस्तुमा पर्छन्। यसका अतिरिक्त सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टेलिभिजन, डिस्प्ले प्यानल, भारी मेसिनरी, प्लास्टिक, रासायनिक कच्चा पदार्थ, स्टिल शीट, पाइप तथा अन्य धातुजन्य सामग्री पनि उल्लेख्य मात्रामा आयात गरिन्छ।
त्यसैगरी केही औषधि, मेडिकल टेक्नोलोजीका उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री, विद्युतीय सवारी साधनका कम्पोनेन्टहरू पनि दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने प्रमुख वस्तुमा समावेश छन्। यी क्षेत्रमा ट्यारिफ वृद्धि भएमा दुवै देशका उद्योग तथा उपभोक्तामा प्रत्यक्ष असर पर्ने आँकलन गरिएको छ।








