धनगढी । धनगढीमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मंगलबार वडा प्रहरी कार्यालय धनगढीका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहित १० जनालाई पक्राउ गरेकाे हाे ।

वडाको टोलीले कलेल होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेतासमेत रहेको खुलेको छ । सुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको फोटो सार्वजनिक भएपछि पहिचान खुलेको हो ।

प्रहरीकाअनुुुसार पक्राउ परेकामध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका-२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका-५ का वडाध्यक्ष रहेका छन् ।

यस्तै देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओदावी केन्द्र्का प्रदेश कमिटी सदस्य हुन् ।

गोदावरी नगरपालिका-३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका-७ का स्थानीय हुन् भने उनी नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य हुन् । सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

यस्तै पक्राउ परेका पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ परेका विरुद्ध बुधबार मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बडाइने जानकारी दिए ।