फिनल्याण्डका वैज्ञानिकहरूले तारको प्रयोग नगरी हावामार्फत बिजुली प्रवाह गर्न सफल भएका छन् । उच्च फ्रिक्वेन्सीका ध्वनि तरंग, लेजर र रेडियो फ्रिक्वेन्सी प्रविधिको संयोजनबाट वैज्ञानिकहरूले यस्तो सफलता प्राप्त गरेका हुन् ।

योसँगै भविष्यमा बिजुलीको प्रवाह र प्रयोगका लागि प्लग, तार र परम्परागत विद्युतीय जडानको आवश्यकता अन्त्य गर्ने लक्ष्य वैज्ञानिकहरूको छ । यदि यो प्रविधि व्यावहारिक रूपमा विस्तार हुन सक्यो भने यसले घर, उद्योग र इलेक्ट्रोनिक उपकरणहरूको स्वरूप नै परिवर्तन गर्न सक्नेछ।

फिनिस वैज्ञानिकहरूले अल्ट्रासोनिक ध्वनि तरंग, लेजर र रेडियो फ्रिक्वेन्सीको सहायताले विद्युत उर्जालाई तारबिनै एक स्थानबाट अर्को स्थानमा सार्न सकिने प्रमाणित गरे । यो प्रयोग हाल ‘प्रूफ अफ कन्सेप्ट’ चरणमा भए पनि यसले भविष्यमा जुनसुकै स्थानमा रहेका उपकरणहरूलाई वायरलेस रूपमा ऊर्जा आपूर्ति गर्न सकिने सम्भावनाको ढोका खोलेको छ।

यस परियोजनाको नेतृत्व हेलसिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयका अनुसन्धान टोलीले गरेका हुन् । उनीहरूले प्रकाशमार्फत ऊर्जा आपूर्ति (पावर–बाइ–लाइट) र रेडियो फ्रिक्वेन्सी ऊर्जा संकलन प्रविधिमा काम गरिरहेका निजी कम्पनीहरूसँग सहकार्य गरेका थिए । भौतिकशास्त्र, इन्जिनियरिङ र अत्याधुनिक प्रविधिको संयोजनबाट गरिएको यस अनुसन्धानले फिनल्याण्डलाई वायरलेस बिजुली प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी राष्ट्रका रूपमा उभ्याएको छ ।

एकुस्टिक वायर के हो ?

यस प्रविधिको केन्द्रमा रहेको अवधारणालाई ‘अकुस्टिक वायर’ भनिन्छ । यसमा उच्च तीव्रताका अल्ट्रासोनिक ध्वनि तरंग प्रयोग गरेर हावामै अदृश्य मार्ग तयार गरिन्छ जसले व्यवहारमा तारजस्तै काम गर्छ । यी ध्वनि–निर्देशित मार्ग हुँदै साना विद्युतीय झिल्काहरू कुनै भौतिक सम्पर्कबिना नै सुरक्षित रूपमा प्रवाह हुन्छन् । यसले स्मार्ट उपकरण र इलेक्ट्रोनिक प्रणालीमा सम्पर्करहित ऊर्जा आपूर्ति सम्भव बनाउँछ ।एजेन्सी