काठमाडौं । प्रभु इन्स्योरेन्स २८ औ बर्षमा प्रवेश गरेको छ । कम्पनीले आफनो २७औँ बर्ष पूरा गरी २८औँ बर्षमा प्रवेश गरेको हो ।
कम्पनीले आज भन्दा २७ वर्ष पहिले (२०५१ साउन १७ गते) निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । पाँच करोड रुपैयाँ पुँजिले सुरुवात गरेको कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको यस कम्पनीलाई प्रभु समुहले लगानी गरे पछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स नाबाट कारोबार शुभारम्भ भएको हो । प्रभु समुहले खरिद गरे सँगै कम्पनीले आफना लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिँदै आएको छ ।
कम्पनीको सिईओ सञ्चित ब्रजाचार्यले बीमा क्षेत्रमा बीमितलाई छिटो र छरिटो सेवा प्रदान गर्ने, प्रविधिमैत्री, शाखा रहित सेवा प्रदान गर्ने र दाबी प्रकृयालाई सरलीकृत गर्दै लाने कुरामा विश्वस्त रहेको बताएका छन् ।
यस अवधिमा कम्पनीले एक पटक ४६ प्रतिशत र दोस्रो पटक ५० प्रतिशत हकप्रद मार्फत शेयरधनीहरु सँग ५० करोड ९१ लाख रुपैयाँ संकलन गर्दै हाल बीमा प्राधिकरणले दिएको पुाजि पुराउन भेञ्चर कम्पनी वा ६५ प्रतिशत हकप्रदको विकल्पमा रहेको छ । यसको अन्तिम विकल्प भने आउन सकेको छैन । कम्पनीको पहिलो सञ्चालक समितिको अध्यक्ष गोविन्द दास श्रेष्ठ थिए ।
विगत ५, ६ बर्षयताको तथ्यांकलाई हेर्ने हो भने अवधिमा कम्पनीले बीमा शुल्क आर्जनलाई दोब्बर बनाउन सफल भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा समिति, सरोकारवाला निकायहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठनहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।
आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरका लागि अपेक्षा गरेको छ । साथै भोलिका दिनमा अझ सरल सुलभ गुणस्तरीय एवं आधुनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ ।