काठमाडौँ । अमेरिकाले भारतबाट भित्रिने सामानमा लगाउँदै आएको भन्सार शुल्कमा कटौती गरेको छ । अब भारतबाट आयात हुने वस्तुहरूमा लाग्ने ट्यारिफ १८ प्रतिशतमा सीमित गरिएको छ । यस निर्णयबारे जानकारी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा अमेरिका र भारतबीच नयाँ व्यापार सहमतिमा समझदारी बनेको उल्लेख गरेका छन् । उनका अनुसार दुवै देशबीच लागू हुँदै आएको रेसिप्रोकल ट्यारिफ उच्च दरबाट घटाइँदै १८ प्रतिशतमा झारिएको हो ।

उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेड इन इन्डिया’ अन्तर्गत उत्पादन हुने वस्तुहरूमा ट्यारिफ घटाइएकामा सन्तोष व्यक्त गरेका छन् ।

भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई नजिकको मित्रका रूपमा हेर्ने कुरा दोहोर्‍याएका छन् । उनले अमेरिका–भारत व्यापार सम्झौतासम्बन्धी पछिल्लो विकासप्रति उत्साह व्यक्त गर्दै दुई देशबीचको सहकार्यमा अझै ठूलो सम्भावना रहेको बताएका छन् ।

सोमबार राति दुवै देशका शीर्ष नेताहरूले गरेका यी घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ, किनभने पछिल्लो एक वर्षको अवधिमा अमेरिका–भारत सम्बन्धमा उतारचढाव देखिँदै आएको थियो ।

यसअघि अमेरिकाले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाएको थियो । त्यसपछि भारतले रुसबाट तेल आयात गरेको विषयलाई लिएर थप २५ प्रतिशत शुल्क थपिँदा कुल ट्यारिफ दर ५० प्रतिशतसम्म पुगेको थियो ।