काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच विस्तार गर्दै रोजगारी सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यले ९ करोड ५० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग स्वीकृत गरेको छ।

विश्व बैंकको वासिङटन डिसीस्थित प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त परियोजनाबाट एक लाखभन्दा बढी साना तथा मझौला उद्यम लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनामार्फत जोखिम साझेदारीको दायरा बढाइने, वित्तीय प्रणालीको दिगोपन बलियो बनाइने तथा महिलाले सञ्चालन गर्ने व्यवसायहरूलाई विशेष प्राथमिकता दिइनेछ।

यस सहयोग अन्तर्गत निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ)लाई थप सशक्त बनाइनेछ, जसले नयाँ उद्यम सुरु गर्न चाहने तथा वित्तीय पहुँच कमजोर रहेका व्यवसायहरूलाई कर्जा प्राप्तिमा सहजता पुर्‍याउने विश्वास लिइएको छ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले परियोजनाले वित्तीय सेवा पहुँच सहज बनाउँदै व्यवसाय सञ्चालनमा देखिने अवरोध कम गर्न सहयोग पुग्ने बताएका छन्। उनका अनुसार जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित उद्यमलाई प्रोत्साहन गर्ने दिशामा यो परियोजना महत्वपूर्ण हुनेछ।

सिस्लेनले यस पहलले एमएसएमईहरूलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मूल्य शृङ्खलासँग जोड्न सहयोग पुर्‍याउने र निजी क्षेत्रको नेतृत्वमा रोजगारी सिर्जनामा योगदान दिने पनि उल्लेख गरेका छन्।

‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्रको स्थायित्व र आर्थिक वृद्धिका लागि गरिएको विकास नीतिगत कर्जा (डिपिसी) सुधार कार्यक्रमको निरन्तरता भएको बताइएको छ।