काठमाडौँ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम रहेको छ। कम्पनीले सर्वसाधारणका लागि माघ १८ गतेदेखि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर बिक्री खुला गरेको थियो।

कुल निष्कासित सेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आईपीओमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ।

यसअघि कम्पनीले मंसिर २५ गते १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। सोही स्वीकृतिअन्तर्गत पहिलो चरणमा पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो।