काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि करिब ३१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको बताएकी छन्।

मंगलबार राष्ट्रिय सेवा दलद्वारा आयोजित कार्यक्रममा सहभागी हुन नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन तयारीमा ठूलो आर्थिक स्रोत परिचालन भइरहेको जानकारी दिइन्।

उनका अनुसार सरकारले फागुन २१ गतेमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको छ। निर्वाचन सर्ने चर्चा बारे प्रतिक्रिया दिँदै उनले चुनाव नहुने वा सारिने कुनै आधार नरहेको स्पष्ट पारिन्। उनले निर्वाचनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र सामग्री व्यवस्थापनमा खर्च बढ्नु स्वाभाविक भएको उल्लेख गरिन्। विभिन्न देशबाट प्राप्त सहयोग पनि यही उद्देश्यमा प्रयोग भइरहेको उनले जनाइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सम्पन्न गरी नयाँ जनप्रतिनिधि चयन भएपछि सत्ता हस्तान्तरण गरिने स्पष्ट पारिन्। कतै कुनै कारणले मतदान अवरुद्ध भएमा दोस्रो चरणमा भए पनि निर्वाचन पूरा गरिने उनको भनाइ थियो।

सरकार शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचन गराउन पूर्ण रूपमा सतर्क र प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीले दोहोर्‍याइन्।

हिमाली क्षेत्रहरूमा चिसो मौसमका कारण समस्या आएमा सवारी साधन प्रयोग गरी मतदातालाई सुरक्षित स्थानमा ल्याएर मतदान गराउने व्यवस्था गरिने समेत उनले बताइन्।