काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्। पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभिन्न जातीय संघ संस्थाले उजुरी दिएका थिए ।
शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।
भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।