काठमाडौं। वणिज्य बैंकहरुले हालै सस्तो ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने नयाँ योजनाहरु सञ्चालनमा ल्याएका छन्। बैंकहरूले सस्तो अटो कर्जा दिनको लागि बेस रेटमा थोरै प्रिमियम जोडेर ऋण उपलब्ध गराइरहेका हुन्।

बैंक तथा वित्तीय संस्थामा तरलता बढेको र तुलनात्मक रुपमा अटो कर्जामा कम जोखिम हुने भएकाले बैंकहरुले सस्तो ब्याजदरमा अटो कर्जा दिन थालेको बैंकिङ क्षेत्रका विज्ञहरूको भनाई छ।

ब्याजदर निर्धारण कसरी हुन्छ ?

बैंकहरूले अटो कर्जा वा अन्य कर्जा दिनु अघि दुई मुख्य आधारमा ब्याजदर निर्धारण गर्छन् ।

आधारदर (Base Rate ) : बेसरेट बैंकको वित्तीय अवस्था, सञ्चालन खर्च, पूँजी लागत र बजार स्थितिको आधारमा तोकिएको न्यूनतम ब्याजदर हो।

आधारदर प्रायः बैंकको मुख्य नीतिगत दर वा केन्द्रिय बैंकको रेपो दरसँग सम्बन्धित हुन्छ। वाणिज्य बैंकहरुले जब पैसा आवश्यक पर्दा केन्द्रिय बैंकबाट ऋण लिन्छन्, त्यसमा लाग्ने ब्याजदर लाई नै Repo दर भनिन्छ।

उदाहरणका लाागि यदि नेपाल राष्ट्र बैंकको Repo दर ४% छ भने, बैंकको आधारदर Repo दरको केही प्रतिशत बढी हुन सक्छ, जस्तै ४.५%।

प्रिमियम दर (Premium Rate) : ग्राहकको जोखिम स्तर, कर्जा अवधि, सुरक्षा/धितोको अवस्था र बजार प्रतिस्पर्धाको आधारमा प्रिमियम थपिन्छ।

यो दर अलग अलग कर्जा योजनाका लागि अलग अलग हुन सक्दछ। यसले नै अन्ततः ग्राहकले तिर्नुपर्ने अन्तिम ब्याजदर निर्धारण गर्दछ ।

बेसरेट र प्रिमियम रेट जोडेर तय भएको ब्याजदरले ग्राहक र बैंक दुवैको हितलाई ध्यानमा राख्दै ऋण सुविधा उपलब्ध गराउँने गरेको छ।

कुन बैंकको बेसरेट कति छ ?

वाणिज्य बैंकहरुले यसअघि नै माघ महिनाका लागि आधार दर प्रकाशित गरिसकेका छन् । जसअनुसार विभिन्न २० वटा वाणिज्य बैंकहरुको आधार दर निम्न अनुसार रहेको छ, जसमा बैंकहरुले प्रिमियम थपेर विभिन्न कर्जा प्रवाह गर्ने गर्दछन् ।

यस्तो छ माघ महिनाका लागि २० वटा वाणिज्य बैंकहरुको आधार दर :

कुन बैंकले कतिमा दिँदैछन् अटो कर्जा ?

अटो कर्जा अन्य कर्जाको तुलनामा जोखिम कम हुने भएकाले पछिल्लो समय बैंकहरुले यस क्षेत्रमा ध्यान केन्द्रित गरेको पाइन्छ।

नबिल बैंकले ६.०४ प्रतिशत ब्याजदरमा अटो कर्जा प्रवाह गरिरहेको छ। बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ५.०४ प्रतिशत रहेको छ र १ प्रतिशत प्रिमियम जोडिएको छ । आधारदर घटबढ हुँदा यो ब्याजदर पनि स्वभाविक रुपमा तल–माथि हुन्छ।

यसैगरी नेपाल बैंकले हाल ५.५६ प्रतिशत ब्याजदरमा अटो कर्जा प्रवाह गरिरहेको छ भने ग्लोबल आइएमई बैंकले ६.२४ प्रतिशतमा अटो कर्जा दिइरहेको छ।

यस्तै, माछापुच्छ्रे बैंकले ५.४८ प्रतिशत बेसरेटमा १.५ प्रतिशत प्रिमियम जोडेर अटो कर्जा प्रवाह गरिरहेको छ। एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर र ५–७ प्रतिशत परिवर्तनशील ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेको छ।

प्रभु बैंकले ५.५९ प्रतिशत स्थिर ब्याजदरमा ५ र ७ वर्ष अवधिका लागि अटो कर्जा दिइरहेको छ भने ७.९९ प्रतिशतमा पनि कर्जा प्रवाह भइरहेको छ। एनएमबि बैंकले ५.४८ प्रतिशत बेसरेटमा १ प्रतिशत प्रिमियम जोडेर ६.४८ प्रतिशत ब्याजदरमा अटो कर्जा प्रदान गरिरहेको छ।

अन्य बैंकहरुमा पनि अटो कर्जा प्रवाह भइरहेको छ। सिद्धार्थ बैंकमा बेसरेटमा ३ प्रतिशत प्रिमियम, कुमारी बैंकमा २ देखि ३ प्रतिशत, नेपाल एसबिआई बैंकमा ०.२५ देखि ३ प्रतिशत, कृषि विकास बैंकमा २.५ प्रतिशतसम्म प्रिमियम जोडिएको छ।

सिटिजन्स बैंकले प्राइभेटका लागि २.५ प्रतिशत र कमर्शियलका लागि ३ प्रतिशत प्रिमियममा कर्जा दिइरहेको छ। सानिमा बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा र ०.७५ देखि २.७५ प्रतिशत प्रिमियम जोडेर फ्लोटिङ ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेको छ।

न्यून ब्याजदरको स्किमले अटो कर्जा प्रवाहमा वृद्धि ल्याएको देखिएको छ। पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुले अटो कर्जा करिब ७ अर्ब रुपैयाँसम्म प्रवाह गरेका छन्। गत कात्तिकसम्म कुल लगानी १ खर्ब १४ अर्ब रहेकोमा मंसिरमा अटो कर्जामा १ खर्ब २१ अर्ब रुपैयाँको लगानी पुगेको बैंकहरुका तथ्यांकले देखाउँछ।