काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर आईतबार दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ । तर, भोलि शुक्रबार परेकोले आइएमई लाइफ इन्स्योरेन्सको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएकाे छ ।

नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता (३० प्रतिशत) छन्।

नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा ५२९.५९ रुपैयाँ तोकेको छ ।

आउँदो आइतबार स्पेसल प्रि–ओपन सेसनमा आइएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउने भएकाे छ ।