काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ३ अंकले बढेर २०८९.८४ विन्दुमा बन्द भएको हो ।
आज कारोबार भएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३० कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दिनभरिमा २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, सिईडिबी, प्रोगेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्टलरी, प्राइम कमर्शीयल बैंक,अपर तामाकोशी, सोल्टि होटल र हिमालयन लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानकिर्ता र एनआइबिएल ग्रोथ फण्डका इकाइधनीले कमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीले ७.८८ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले ७.२३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५.१९ प्रतिशतले घटेको छ ।