काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ल्याएको छ । साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख नेपालमा यस कम्पनीले शुरू गरेको हो ।
साईलेज बीमाले साईलेज बनाउन लगाईने बालीको लागत मुल्यको आधारमा सुरक्षण गर्दछ । त्यसैगरी कृषकले सिलो झोला, सिलो पिट वा ड्रम जस्तो बिधिबाट भण्डारण गरी साईलेज बनाउने प्रकृया सुरू गरे पश्चयात सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका रिसर्च एण्ड डेभलपमेन्ट बिभागका प्रमुख महाप्रबन्धक उदित प्रसाद काफ्ले अनुसार नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकता अनुसारको बीमालेखहरू बजारमा ल्याउने उदेश्य सहित यस कम्पनीले साईलेज बाली बीमालेख सुरू गरेको हो ।
साथै कम्पनीका बजार बिभागका बरिष्ठ महाप्रबन्धक पुष्कर महतको अनुसार नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन र निर्यातका लागि बाटो खुला गरिदिए पनि घाँस उत्पादकहरूले भने निर्यात गर्न पर्याप्त घाँस नभएको बताउदै आएका छन् ।
के हो साईलेज ?
हरियो घाँसबाट पोषक तत्व र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको आवश्यकता अनुसार प्रयोग गर्ने हेतुको साथ हावा नछिर्ने गरी प्याकेजिङ्ग गरी राखीएको पशु आहारालाई साईलेज भनिन्छ ।
साईलेजको गुण धेरै र मुल्य पनि कम भएको कारण कृषि लागत कम गर्ने हेतुका साथ नेपालमा साईलेजको सम्भावना र माग समेत धेरै छ। हाल नेपालबाट उत्पादन र प्याकेजीङ्ग गरी अन्तराष्टिय बजार समेत बनाउन सकेको साईलेजको अब बीमा गर्न सकिने भएको छ ।
नेपालमा कृषि बीमामा विकास र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई सम्मान समेत गरिएको थियो ।