काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको चौँथो पूर्ण बैठकको तेस्रो दिन प्रस्तावित प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा उनले यस्ताे बताएका हुन् ।
उनले २०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन तथा भ्रष्टाचार निवारणका लागि सर्वशक्ति सम्पन्न आयोग निर्माण गर्नुपर्ने बताए ।
उनले नेपालको राजनीति, हरेक पार्टी, हरेक तहका नेताहरूलाई दलालहरूले गाँजेको भन्दै त्यसैले राजनीतिक शुद्धीकरण र यसैको आधारमा पार्टीमा शुद्धीकरण पनि हुने बताए ।
अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन मूलभूत हिसाबले सही भएकोले त्यसको मूल स्पिरिटमा समर्थन गर्ने उनले बताए ।
उनले भने ‘पार्टीमा साँच्चै निराशा र अन्यौलता थियो । हाम्रो नेतृत्वमा बनेको सरकार भ्रष्टाचार विरूद्धको लडाइँ, सुशासन र अन्य पहलकदमीसहित अगाडि बढेपछि आशा पलाएको छ, अब माओवादी पार्टी बन्ने वातावरण बनेको छ । तर यसलाई गलत ढंगले अन्यत्र मोड्ने खतरा त्यतिकै छ । यसलाई चिर्न र पार्टी निर्माण गर्न मात्र होइन, देशकै राजनीतिक भविष्यको आशाको नेतृत्व गर्नमा अधिकतम सफलता हासिल गर्नुपर्दछ ।’