काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्षको चौथों त्रैमासम्म खुद नाफा ४९.५३ प्रतिशत बढेर २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रभुको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपछि खुद नाफा बढेको हो । यसअवधिमा खुद ब्याज आम्दानी ७८.६२% ले बढेर १० अर्ब २५ करोड रुपैयाँ नाघेको छ ।

यस अवधिमा बैंकको अघिल्लो वर्ष १.८६% रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४.१६% पुगेको छ । जसका कारण लोन लस प्रोभिजनमा २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ । खराब कर्जाको व्यवस्थापनलाई बैंकले उच्च प्राथमिकतामा राखेको चौथो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेको छ ।

गत वर्ष सेन्चुरी बैंकलाई एक्वायर गरेपछि प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब बढी पुगेको छ । रिजर्भ कोष ८५.३६% ले बढेर १० अर्ब रुपैयाँ नाघेको छ । यता, चुक्ता पुँजीमा भारी वृद्धि भएका कारण खुद नाफा बढेपछि प्रतिसेयर आम्दानी केही दबाबमा आएको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी २.९७% ले घटेर अहिले १२ रुपैयाँमा सीमित भएको छ ।

बैंकको कस्ट अप फण्ड ७.८३ प्रतिशत, आधार दर १०.२६ प्रतिशत, स्प्रेड दर ४.८६ प्रतिशत र सीडी रेसियो ८०.३९ प्रतिशत रहेको छ ।