काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ३ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले आज बैंकहरुका सहायक कम्पनी नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिजलाई कारोबार सदस्यता प्रदान गरेको हाे ।
जसमध्ये नबिल सेक्युरिटिजले स्टक डिलरका रुपमा काम गर्नेछ । यी तिनवटै नयाँ ब्रोकरको भौतिक र प्राविधिक पूर्वाधार निरीक्षण गरेर कारोबार सदस्यता प्रदान गरिएको हो ।
यीसँगै नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १७ पुगेको छ । यी १७ वटाले केही समयपहिला नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ब्रोकर लाइसेन्स पाएका थिए ।
यसअघि नेप्सेले पहिलो चरणमा ७ वटा र दोस्रो चरणमा पनि ७ वटै नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको थियो । तीमध्ये ७ वटा नयाँ ब्रोकर कारोबार सञ्चालन गरिसकेका छन् । त्यस्तै बाँकी ७ वटाले कारोबार सञ्चालनको तयारी गरिरहेका छन् ।