काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान सीआईबीलाई जिम्मा लगाएको छ । राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको करिब एक सय किलो सुन र उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बुझाएको हाे ।

अहिलेसम्म संकलित अनुसन्धानका प्रमाणहरु, अनुसन्धानको फाइल जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा र पक्राउ परेका १७ जनालाई सीआईबी पठाएको हाे ।

आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए ।

४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो । ३ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १७ जना पक्राउ परिसकेका छन् ।