काठमाडौं। बचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष डा. देश मर्दन बस्न्यातले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीको यात्रा उपलब्धिमूलक रहेको उल्लेख गर्नुभयो।
उहाँले वार्षिकोत्सव केवल उत्सव मात्र नभई विगतका उपलब्धिहरूको समीक्षा, योगदानकर्ताहरूको सम्मान तथा भविष्यका लक्ष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। आगामी १० वर्षभित्र सहकारीलाई अझ सुदृढ बनाउँदै समान बचत, न्यून ऋण ब्याजदर, समान शेयर विस्तार, पारदर्शिता, सुशासन, सदस्यहरूको समान सहभागिता र दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा ज्येष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट समूह तथा सहकारी विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै, सहकारी शिक्षा तथा वित्तीय साक्षरता अभिवृद्धिमा संस्थाले खेल्दै आएको भूमिकालाई विशेष रूपमा जोड दिइयो।
वि.स. २०६६ मा स्थापना भएको यस सहकारीका संस्थापक अध्यक्ष प्रा. लक्ष्मण मोहन धोज जोशी हुनुहुन्थ्यो। प्रारम्भमा विद्यार्थी, शिक्षक तथा सामाजिक कार्यकर्ताहरूको सक्रियतामा स्थापना भएको सहकारीले बचत प्रवर्द्धन, सुलभ ऋण सेवा र आत्मनिर्भर समुदाय निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ।
हाल सहकारीको शेयर पूँजी ३ करोड ५८ लाखभन्दा बढी, जगेडा तथा अन्य कोष ४ करोड ६२ लाखभन्दा बढी, बचत तथा निक्षेप २३ करोड ३० लाखभन्दा बढी र ऋण लगानी २६ करोड ५१ लाखभन्दा बढी पुगेको छ। संस्थामा कुल १,५०९ सदस्य आबद्ध छन्, जसमध्ये ७२४ महिला, ७८२ पुरुष तथा ३ संस्थागत सदस्य रहेका छन्।
सहकारी क्षेत्र विश्वभर तीव्र रूपमा विस्तार भइरहेको छ। नेपालमा हाल ३२,९६५ सहकारी संस्थामार्फत १ करोड ९ लाखभन्दा बढी नागरिक आबद्ध छन्, जसले आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। विश्वस्तरमा १.१–१.२ अर्ब मानिस सहकारीका सदस्य रहेका छन्, जुन विश्व जनसंख्याको १२–१५ प्रतिशत हो।
एसिया–प्रशान्त क्षेत्रमा सबैभन्दा बढी ६० करोड सदस्य रहेका छन् भने अफ्रिका, युरोप, अमेरिका र ओसिनियामा पनि सहकारीको उल्लेखनीय उपस्थिति छ। कार्यक्रममा विश्वभर सहकारीको वर्तमान अवस्थाबारे पनि चर्चा गरिएको थियो।
सहकारीहरूले विश्वभर करिब २८ करोड रोजगारी सिर्जना गर्नुका साथै धेरै देशको कुल गार्हस्थ्य उत्पादनमा ५–१० प्रतिशत योगदान दिँदै आएका छन्। यसले सहकारीलाई “सामाजिक अर्थतन्त्र” को प्रमुख आधारका रूपमा स्थापित गरेको छ। नेपालमा सहकारी आन्दोलन तीव्र रूपमा विस्तार भइरहेको छ भने विश्वस्तरमा सहकारीहरू सामाजिक अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित भएका छन्।
संस्थापक सदस्य तथा अध्यक्ष श्री मुकुन्दराज खनालले संस्थापक तथा प्रथम अध्यक्ष प्रा। जोशी र पूर्व अध्यक्ष श्री सुरज के।सी।को संकटकालीन योगदानको उच्च प्रशंसा गर्नुभयो। सहकारीका सचिव श्री मनोहरी तिवारीले सदस्यहरूको निरन्तर साना बचतमार्फत सहकारी सुदृढ बन्ने स्पष्ट मार्ग रहेको उल्लेख गर्दै, सदस्य र उनीहरूको नियमित बचत नै संस्थाको आत्मा भएको बताउनुभयो।
साथै, पृथ्वी रहेसम्म सहकारी मजबुत रूपमा अघि बढिरहने विश्वास व्यक्त गर्नुभयो।सदस्य तथा लोक सेवा आयोगका पूर्व प्रमुख मनोवैज्ञानिक डा। खगेन्द्र प्रसाद सुवेदीले सहकारीको सफलताको मुख्य आधार सुशासन र पारदर्शिता रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका क्रममा “नियमित बचत सदस्य कल्याण कार्यक्रम” अन्तर्गत सदस्य क्षतिपूर्ति कोष नीति–२०८० बारे जानकारी दिँदै श्री देशराज बञ्जाराले सदस्यहरूको क्षमताअनुसार रु. १००, ५०० र १,००० को नियमित बचत व्यवस्था रहेको जानकारी दिनुभयो।
सहकारीले समुदायमा बचत प्रवर्द्धन, उद्यमशीलता विकास, वित्तीय समावेशीकरण तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ। नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडका एक आधिकारिक प्रशिक्षकद्वारा ३०० सदस्यका लागि सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा ५० भन्दा बढी बाल बचतकर्ताहरूको सहभागिता रहेको थियो।
साथै, सहकारीले प्रमुख कार्यक्रम र महत्वपूर्ण मितिहरू समेटिएको वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरेको थियो। कार्यक्रमको समापनमा आयोजक समितिकी संयोजक शान्ता गौतमले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।







