काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकाे आइपीओ बाँडफाँड सम्पन्न भएकाे छ । इन्स्योरेन्सले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्काशन गरेको आइपीओ आज साेमबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले बाँडफाँड गरेको हाे ।

कम्पनीले साउन १ देखि साउन १५ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

बिक्री प्रबन्धकका अनुसार यस आइपीओमा कुल २७ हजार ९ सय १ जना मात्र योग्य आवेदन परेको थियो । क्यापिटलका अनुसार १० देखि ४० कित्तासम्मको लागि आवेदन दिने ९ हजार ७४ जना आवेदकले माग गरे अनुसार नै शेयर पाएका छन् । त्यस्तै ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् ।

त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदक मध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।

यस आइपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आइपीओको नतिजा हेर्न तयार पारेकोको https://iporesult.cdsc.com.np वेबसाइटबाट हेर्न सकिने छ ।