काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा नियम उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकलाई कारबाही गरेको हो ।

कारबाही पर्नेमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक रहेका छन् ।

प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेकोमा राष्ट्र बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इप्रानं १५ /०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

कुमारी बैंकले २०७९ माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना गरिएको छ । हिमालयन बैंकलाई पनि २०७९ कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोमा १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरेको छ ।