विराटनगर । महिलामाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा विराटनगरका चिकित्सक पक्राउ परेका छन् । मध्यरातमा पूर्व महिला कर्मचारीको घरमा पुगेर र्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो रहेका छन् ।

जाँडरक्सीले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर होहल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

यातायात सेवा कार्यालयमा महतोले आँखा जाँच गर्ने जिम्मेवारी एक वर्षका लागि पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डाक्टर महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्रव्यवहार गरेको प्रहरीको दाबी छ ।

उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए ।