काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्ताे बताएका हुन् ।
उनले विद्युत् उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना अन्तिम चरणमा पुगेको बताए ।
मन्त्री बस्नेतले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगै विद्युत् उत्पादन र खपतका समस्या सम्बोधन हुने बताए । उनले विद्युत् उत्पादकहरुले एउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने बताए ।
मन्त्री बस्नेतले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै आगामी एक वर्षमा ४ हजार माथि पुग्ने बताए । उनले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत् उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपण र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताए ।
मन्त्री बस्नेतले वर्तमान अवस्था, सम्भावना, आवश्यकताहरु र अहिले विकसित हुँदै गएको अवस्थाहरुलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गरे ।